२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

नेपालले विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने



काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० विश्वकपअघि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ ।

नेपालले विश्वकपको तयारीस्वरुप भारतको बरोडा र गुजरात क्रिकेट सङ्घको टोलीसँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपालले खेल्न लागेको टोली भारतको दुई टोली राज्य स्तरका हुन् । क्यानले सार्वजनिक गरेको तालिका अनुसार उक्त सिरिज मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुनेछ । तालिका अनुसार नेपालले मार्च ३१ र अप्रिल ३ तारिख गुजरात तथा अप्रिल २ र ५ तारिखमा बरोडासँग खेल्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ । आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

नेपालको समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ३ : ०९ बजे