२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

जैसवालले बनाए अविजित २१४ रन, इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य



काठमाडौँ ।

भारतका युवा ब्याट्सम्यान यशस्वी जैसवालले दोहोरो शतक बनाएपछि भारतले जारी तेस्रो टेस्टमा इङल्याण्डलाई विशाल ५५७ रनको लक्ष्य दिएको छ ।

खेलको चौथो दिन भारतले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ४३० रन बनाएपछि इनिंग घोषणा गरेको थियो ।

भारतका लागि दोस्रो इनिंगमा यशस्वी जैसवालले अविजित २१४ रन बनाएका छन् । जैसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो युवा खेलाडी बनेका छन् । उनले २२ बर्ष ४९ दिनमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएर यस्तो रेकर्ड बनाएका छन् ।

टेस्ट क्रिकेटमा कम उमेरमा दोहोरो शतक बनाउने किर्तिमान भारतकै विनोद काम्ब्लीको नाममा रहेको छ । उनले २१ बर्ष ५४ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका डन ब्राडम्यानले २१ बर्ष ३१८ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए ।

त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलिरहेका शरफराज खानले ६८ रन बनाउदै दुवै इनिंगमा अर्धशतक बनाएका छन् । त्यस्तै भारतका शुभमन गिल ९१ रन बनाएर आउट भएका थिए । यसरी पहिलो इनिंगमा १२६ रनको अग्रताको आधारमा भारतले ५५६ रनको अग्रता लिएको छ । यस अघि भारतले पहिलो इनिंगमा ४४५ र इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : ३० बजे