काठमाडौँ ।
सर्वोच्चका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाले न्यायिक क्षेत्रमा मध्यस्थताको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छन् ।
‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै सिन्हाले यस्तो बताएका हुन् ।
‘न्यायिक क्षेत्रमा मध्यस्ताको बाटो र मध्यस्थ कर्ताको निकै ठुलो भूमिका छ । मध्यस्थताका माध्यमबाट अदालतमा रहेका हजारौँ मुद्दाहरू किनारा लाग्न सक्छन्, सिन्हाले भने, ‘तर, मध्यस्थकर्ताहरू यस्ता विषयमा निकै संवेशलनशील र जिम्मेवार हुनुपर्छ ।’
लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउन यस्ता तालिमहरू थप फलदायी हुने उनले बताए । साथै, यस्ता कार्यक्रमहरू बेलाबखतमा सञ्चालन गर्नुपर्नेमा पनि सिन्हाले जोड दिए ।
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) र नेपाल मध्यस्थता परिषद् (नेप्का) को संयुक्त आयोजनामा काठमाडौँमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’ सम्बन्धी ५ दिने तालिम सञ्चालन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले ५ दिने तालिम निकै अर्थपूर्ण रहेको र दुई पक्षीय रूपमा भएका सम्झौताको कार्यान्वयन चरणमा देखिने समस्या र विवाद समाधानका लागि मूर्धन्य जनशक्ति उत्पादन भएको बताए ।
साथै, यस्ता कार्यक्रम र तालिमलाई डिएलए नेपालको तर्फबाट आगामी दिनमा पनि जारी राख्ने प्रतिबद्धता केसीले व्यक्त गरे ।
यस्ता तालिमले सहभागी प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्नुका साथै मध्यस्थताको क्षेत्रमा योग्य र सक्षम जनशक्ति निर्माण भएकामा आफू विश्वस्त रहेको बताउँदै सहआयोजक नेप्काका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीले सबै प्रशिक्षार्थीलाई धन्यवाद व्यक्त गरे ।
फागुन ४ देखि ८ गतेसम्म भएको तालिममा देशभरबाट ५६ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए भने वरिष्ठ अधिवक्ता तथा सम्बन्धित क्षेत्रका विभिन्न अग्रजहरूले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट मध्यस्थताका विषयमा थप बुझ्न पाएको बताए । ‘मध्यस्थताका सम्बन्धमा रहेका केही भ्रम र अन्योल हटेको छ,’ सहभागीहरूको भनाइ थियो, ‘यो तालिमका कारण अब काम गर्न थप सहज हुनेछ ।’
तालिममा वरिष्ठ अधिवक्ताहरूदेखि भर्खरै लाइसेन्स लिएका अधिवक्ताहरू पनि सहभागी थिए ।